नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले ‘वित्तीय सहकारीका समस्या र समाधानका उपाय’ विषयमा सहकारी सम्बाद कार्यक्रम गरेको छ । फागुन २२ युनियन हाउस अनामनगरमा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी, सहकारी विभागका रजिष्ट्रार केदार न्यौपाने, नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भण्डारी र राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतिले आफ्नो धारणा राख्नुभएको थियो ।
सम्वाद कार्यक्रमा बोल्दै डेपुटी गभर्नर अधिकारीले सहकारीका सञ्चालकहरुले सदस्यहरुको निक्षेप आफु खुसी प्रयोग गर्ने र कुम्लाएर हिड्ने प्रवृती बढ्दै गएको बताउनुभयो । सिमीत व्यक्तीको चलखेलले सिंगो सहकारी क्षेत्र नै धरासायी बन्दै गएको उहाँको भनाई थियो ।
अधिकारीले सहकारीमा अनेक प्रलोभन पारेर सर्बसाधारणबाट पैसा जम्मा गर्ने र भाग्ने प्रवृती बढेको बताउनुभयो । सहर केन्द्रीत केही सहकारीमा रहेको समस्याले वित्तीय क्षेत्रमा जटिल समस्या आएको अधिकारीको भनाई छ ।
समस्याग्रस्त सहकारीको अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलको संयोजक समेत रहनुभएका डेपुटी गर्भनर अधिकारीले २२ वटा सहकारीको वित्तीय विवरण अध्ययन गरिरहेको जानकारी दिनुभयो । ‘समस्यामा परेका र नपरेका ठुला सहकारीको वित्तीय विवरण मगाएर अध्ययन गरिरहेका छौं” उहाँले भन्नुभयो ।
सहकारी राष्ट्र बैँक लगायत राज्यको प्राथमिकतामा परेपनि तीन खम्बामध्ये सहकारी सबल खम्बाका रुपमा स्थापित हुन नसकेको उहाँको भनाइ छ । सहकारी बैँकभन्दा फरक सिद्वान्त भएकाले सहकारीमा समस्या देखा पर्दा सामान्यरुपमा हेर्न नहुने उहाँको सुझाव थियो । सहकारी, गैरसरकारी र लघुवित्तको काम गर्ने संस्थालाई अनुगमन गर्न छुट्टै निकाय गठन गर्न जरुरी रहेको डेपुटी गभर्नर अधिकारी बताउनुभयो । सहकारीलाई राष्ट्र बैंकले अनुगमन गर्न नमिल्ने र आवश्यक परेका अनुगमनका लागि टेक्निकल सर्पोट मात्र गर्ने उहाले बताउनुभयो ।
सहकारीलाई नेपाल राष्ट्र बैंक अन्र्तगतका विभिन्न कोष संचालन गर्न दिएको उल्लेख गर्दै केन्द्रीय बैंक सहकारीप्रति सकारात्मक रहेको अधिकारीले दावी गर्नुभयो ।
सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारी अनुशासनमा बस्न नसकेकाले समस्या उत्पन्न भएको बताउनुभयो । सहकारीमा आकर्षक ब्याजको लोभमा निक्षेप जम्मा गर्ने प्रवृति बढेकाले त्यसलाई निरुत्साहित गर्न लागिपरेको उहाँले बताउनुयो । सहकारीले घरजग्गामा अत्याधिक लगानी गरेकाले समस्या देखिएको न्यौपानेको भनाइ छ । राष्ट्र बैंक र विभाग बीच समन्वय हुन नसक्दा घरजग्गामा लगानी भएका सहकारीहरु समस्यामा पर्न गएको उहाँको भनाई थियो । राता रात नाफा कमाउने लोभले गर्दा सहकारी बदनाम बन्दै गएको न्यौपानेको भनाई छ । सहकारीमार्फत उत्पादन, रोजगारी, र गरिवी निवारण गर्न आवश्यक छ’ उहाँले भन्नुभयो । सहकारीमा समस्या आयो टाट पल्टन लाग्यो भने त्यसलाई कडाई गर्ने अधिकार हामी संग छैन, न्यौपानेले भन्नुभयो– सचेत गर्ने र सुधार गर्न समय सिमा दिन बाहेक हामी केही गर्न सक्दैनौ । राष्ट्र बैंकले घरजग्गामा लगानी कडाइ गरेपछि सहकारीबाट त्यसतर्फ लागेकाले समस्या बढेको उहाँको भनाइ थियो ।
राष्ट्रिय सहकारी बैँकका प्रबन्ध सञ्चालक केबी उप्रेतिले सहकारीले उत्पादनमूलक क्षेत्रमा जान खोजेको बताउनुभयो । ‘हामी बित्तीय क्षेत्रमा मात्र सीमित हुन चाहदैनौँ’ उहाँले भन्नुभयो । सहकारी सहकारी मिलेर उहाँले हाइड्रोपावरमा लगानी गर्न खोजेको र बित्तीय सहकारीमा देखिएका समस्या समाधान गर्न सहकारी आन्दोलनबाट पनि लागिपरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सिमीत सहकारीको समस्या देखाएर केही बैंक र बैंकर्स संघ सहकारी सिध्याउन लागेको आरोप लगाउनुभयो । संविधानले सहकारी प्रथामिकता दिए पनि राष्ट्र बैंक, अर्थ मन्त्रालयले यसको विकासमा चासो नदेखाएको उहाँको गुनासो थियो । सरकारले मात्र सबै सहकारीको नियमन गर्न नसक्ने ठोकुवा गर्दै भण्डारीले सहकारीका केन्द्रीय संघहरुलाई परिचालन गरेर अघि बढेमात्र समस्या समाधन हुने बताउनुभयो । यसअघि अनुगमन गरेको प्रतिवेदन लुकाएकाले अहिले सहकारीमा समस्या आएको उहाँको भनाइ थियो । “दुई वर्षअघि नै अनुगमन गर्दा केही सहकारीको शत प्रतिशत घरजग्गामा लगानी भएको भेटिएको थियो, उहाँले भन्नुभयो, “त्यस्तो अवस्थामा सहकारी विभाग किन चुप लागेर बस्यो ।”
कार्यक्रममा विभिन्न संचारमाध्यममा ३० जना पत्रकारहरुको सहभागीता रहेको थियो ।
सहकारी क्षेत्रमा कलम चलाउदै आएका पत्रकारहरुको छाता संगठन सिजेएनले नियमित रुपमा ‘सहकारी सम्वाद’ कार्यक्रम गर्दै आएको छ ।
No comments:
Post a Comment